Wednesday, May 23, 2018
Sunday, May 20, 2018
Saturday, May 19, 2018
डाक्टर उपेन्द्र देबकोटाको आत्मकथा को अंश
मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- ११)
मेरो बेलायत यात्रा
डा. उपेन्द्र देवकोटा १६ घण्टा पहिले
175
अध्ययनका लागि बेलायत जाने क्रममा सबै कुरा उतातिर ठिक भयो, ब्रिटिस काउन्सिलको स्पोन्सरसिप आयो, ल्याङ्ग्वेज पास गरेँ तर मेरो तीन वर्षको अध्ययनबिदा स्वीकृत भइसकेको थिएन। त्यो बेला अर्जुननरसिंह केसी स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो, लाग्यो तल कुरा गरेर काम छैन। एक दिन उहाँको घरमा गएँ सामाखुसी, बिचको कन्ट्याक्ट लिएर। नेपाली कांग्रेसप्रति झुकाव राख्ने गाउँका दाइ थिए, त्यो बेला पार्टीहरु प्रतिबन्धित थिए। फेरि अर्जुननरसिंह केसीले हाम्रो सबै परिवारलाई चिन्नुभएको थियो, मेरो दाइ जेलमा हुनुहुन्छ, राजकाज अपराध एेन अन्तर्गत भन्ने पनि राम्ररी थाहा थियो। पहिला नै मन्त्रीलाई कन्फिडेन्समा लिएपछि सजिलो हुन्छ भन्ने लाग्यो। उहाँ राजनीतिक मान्छे, पञ्चायतमा प्रवेश गरे पनि राजनीतिक कल्चर धेरै भएको। हुन त हाम्रो परिवारका पनि दुईजना व्यक्ति त्यो व्यवस्थामा लागे पनि पञ्चायती राजनीतिभन्दा धेरै माथि हुनुहुन्थ्यो। राजेश्वर देवकोटा र विद्यादेवी देवकोटा।
उहाँहरुलाई भन्दा अन्यत्र हल्ला हुने कुरै भएन, अरुले छ्वास्स कुरा लगाइदे भने बिग्रन्थ्यो।
त्यसपछि अर्जुननरसिंह केसी दाइलाई स्पष्ट राखेँ, ‘तपाईँलाई मेरो ब्याकग्राउन्ड थाहा छ, मेरो पढाइको स्तर पनि तपाईँलाई थाहा छ। मलाई एउटा मौका आको छ, तपाईले अध्ययन बिदा दिनुभयो भने मलाई फर्केर आउने बाटो हुन्छ। दिनुभएन भने पनि म यसै जानुपर्छ, उस्सै जानु पर्छ, फर्केर आउने मेरो बाटो बन्द हुन्छ।’
यति भनेपछि उहाँले भन्नुभयो, ‘तपाईँलाई म राम्ररी चिन्छु।’ अनि जेलका सहयात्री दाइ कस्तो हुनुहुन्छ भनेर सोध्नुभयो। अन्त्यमा आश्वस्त हुनुहोस्, म कुनै तरिकाले बिदा स्वीकृति दिन्छु भनि बिदा गर्नुभयो। यसरी मन्त्रीको सानो हस्तक्षेपबाट मेरो अध्ययन बिदा स्वीकृत भयो। सबै तयारी हुँदै थियो। ल्याङ्वेज पास गरेँ, ‘१५ दिन बाँकी छँदैमा।’ ब्रिटिस काउन्सिलबाट सरकारको नोमिनेसन गइसकेपछि मलाई बुधबार यहाँबाट उड्ने, बुधबार राति दिल्ली बस्ने, बिहीबार बिहानै ब्रिटिस एयरवेजको फ्लाइटबाट लण्डन साँझसम्म पुग्ने, शुक्रबार त्यहाँको काउन्सिल रजिस्ट्रेसनदेखि लिएर ब्रिटिस काउन्सिलको अफिसियल काम सिद्धाएर शनिबार ग्लासगो पुग्ने अनि आइतबार एकदिन आराम गरेर सोमबारदेखि काम गर्ने सबै मिलाइसकेको थियो। खालि टिकट इस्यु गर्न मात्र बाँकी थियो। टिकट इस्यु गर्नुअघि स्वास्थ्य मन्त्रालयबाट एउटा चिठ्ठी अर्थ मन्त्रालयको परराष्ट शाखामा जानुपर्ने हुन्थ्यो, अनि अर्थ मन्त्रालयले ब्रिटिस काउन्सिललाई चिठ्ठी लेखिदिएपछि औपचारिकताले पूर्णता पाउँथ्यो।
अन्तिम सानो ‘हिच’ बाँकी थियो। अर्थ मन्त्रालयको चिठ्ठी चाहिँ स्वास्थ्य सचिवको टेबलमा पुग्यो। चन्द्रकला किरण हुनुहुन्थ्यो स्वास्थ्य सचिव। उहाँको पिए दवाडी असाध्यै अनौठो चरित्रको हुनुहुन्थ्यो, सेक्सन अफिसर। सबैले भन्थे, दवाडी छात्रवृत्तिमा जाने डाक्टरहरुलाई निचोर्न खुब सिपालु। उम्कन लागेको मान्छेलाई अन्तिम बेलामा केही न केही बहाना बनाएर उपहारका लागि बार्गेन गर्ने। उहाँको रवाफले त्यो देखाउँथ्यो पनि। उहाँ एकदमै स्मार्ट, वेल ड्रेस्ड पनि, अरु सेक्सन अफिसरभन्दा धेरै बेग्लै, ६/७ सय तलबले भ्याउने खालको उहाँको रवाफ थिएन।
साथीभाइले भन्न थाले, ‘दवाडीले अहिलेसम्म नसताएको मान्छे नै छैन, कति के कसरी खुसी बनाउने तयार भएर जा।’ आउँदो बुधबार उडनुपर्ने। अघिल्लो बुधबारको कुरा हो, सचिवको टेबलमा फाइल पुगेको। तर त्यहाँबाट अगाडि फाइल पेस नै हुँदैन। मरिगए फाइल मुभ नै गर्दैन।
त्यसको भोलिपल्ट बिहीबार देशमा एकदमै महत्वपूर्ण राजनीतिक घटना भयो। सूर्यबहादुर थापा विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भयो संसदमा। चार जनाबाहेक अरु सबै थापाको विरुद्धमा उभिए। सन् १९८३ जुलाइको कुरा हो यो, अर्जुननरसिंह केसी पनि थापाको पक्षमा उभिनुभएकाले पदबाट हटाइनुभयो। स्वास्थ्यमन्त्री ‘को आयो थाहा भएन मलाई’ तर भाग्यवश स्वास्थ्य सहायक मन्त्रीमा मेरै कान्छीआमा आइपुग्नुभयो, विद्यादेवी देवकोटा।
विद्यादेवी देवकोटा सहायकमन्त्री हुने लेबलकोमात्र मान्छे होइन। त्यो बेलाको पहाडको साँघुरो सोच भएको समाजमा हुर्केकी बाहुनी र पण्डितको श्रीमती। हाम्रो कान्छा बा चाँडै बित्नुभयो। धेरै संघर्ष गरेर महिला आन्दोलन गरेको मान्छे हो उहाँ, गाउँमा महिलालाई प्रौढ शिक्षा, रात्रि शिक्षा दिएर छोरी बुहारीलाई शिक्षित गर्न थाल्नुभएको थियो, ‘कटाइबुनाइ पनि सिकाउने।’ घरमा तान राखेर कपडा बुन्न सिकाउनुहुन्थ्यो। तर त्यो धेरै गाउँलेलाई पचेन किनभने त्यो बेला छोरी बुहारी पढे भने पोइल जान्छन् भन्ने चलन थियो। यो कान्छीले के गरी, छोरी बुहारीलाई बिगार्न लागिपरी भनियो। तर पनि उहाँले छोड्नुभएन। मेरो विचारमा पहाडमा बसेर त्यो अवस्थामा सबैसँग जुधेर नारीको पक्षमा उभिने, आन्दोलन गर्ने विराङ्गना हो उहाँ र म उहाँको भतिजो भएकोमा गर्व गर्छु। उहाँकै प्रोत्साहनमा हामीले केटाकेटी बेलामा महिला उत्थानको नाटक सदरमुकाममा मञ्चन गरेका थियौँ।
कान्छीआमा सहायक मन्त्री भए पनि मन्त्रालयमा दिउँसो नभई जान दिँदैनथे। बिहीबार दिउँसो मन्त्रालय गएँ, सोझै उहाँको कार्यालयमा। सायद उहाँले पहिलो ट्याकल गरेको समस्या नै मेरो होला। किन आइस् बाबु भन्नुभयो। आमा मेरो फाइल दवाडीले रोकिराखेको छ, सचिवकोमा पेश गर्नुपर्ने, पेश नै नगरी मलाई अल्मल्याइएको छ भनेँ। आज रोकियो र शुक्रबारसम्म पनि ब्रिटिस काउन्सिलमा मैले चिठी लग्न सकिन भने बर्बाद हुन्छ, सोमबार खुल्छ ब्रिटिस काउन्सिल पनि भनेँ। यहाँबाट आज चिठी पाएँ भने भोलि बिहान अर्थ मन्त्रालयबाट पनि चिठ्ठी लिन्छु अनि दिउँसो ब्रिटिस काउन्सिलमा जान्छु। नत्र बुधबार उड्नसक्ने स्थिति आउँदैन भनी विस्तारमा सुनाएँ।
चन्द्रकला किरण पनि महिला हो, म पनि महिला मन्त्री, त्यसले नगरेर हुन्छ भनेर आमाले आक्रोश व्यक्त गर्नुभयो। त्यो बेला सहायक मन्त्रीको पिए सुब्बा हुन्थे, सचिवको चाहिँ सेक्सन अफिसर। मन्त्रालयमा दवाडीको रवाफले धेरै मानिस खुसी थिएनन्। आफ्नो शक्तिभन्दा बढी नै प्रभाव उहाँले एक्सरसाइज गर्नुभएको थियो। अनि आमाले पिएलाई सोध्नुभयो, ‘हँ बाबु के गर्नुपर्छ यसमा?’
पिएले कस्तो जवाफ दिए भन्दा ‘हजुरले त सबै फाइल थुताउन मिल्छ, सबै फाइल दवाडीलाई लिएर आइजो भनेपछि ल्याउनै पर्छ। यो फाइल सचिवकोमा पेश गर भनेर मौखिक आदेश दिएमात्रै पुग्छ।’
आमाले ‘ल गर्न पर्यो भन्नुभयो।’ त्यहाँ कस्तो रमाइलो भयो भन्दा आफ्नो आक्रोश व्यक्त गर्न आमाको पिएले तत्काल दवाडीलाई फोन गरे। ‘दवाडीज्यू, मन्त्रीज्यूको आदेश छ, तपाईँको टेबलमा भएको सबै फाइल बोकेर आउनुपर्यो।’ त्यसपछि दवाडीले त्यो फाइल बोकेर आएको दृष्य हेर्नलायक थियो। दुईटा हात तल बाँधेको र फाइलको चाङले चिउँडोसम्म छोएको। त्यो बोकेर हिड्न पनि गाह्रो। दवाडीले स्वास्थ्य मन्त्रालयको पूरा करिडोर हिँडेर आए र सहायक मन्त्रीको टेबलमा फाइलहरु राखेँ। त्यसपछि ती सुब्बाले उसलाई सँगै राखेर मेरो फाइल देखाए। यो आजै पेश गर्नू भनी आमाले आदेश दिनुभो। त्योसँगै आमाले चन्द्रकला किरणलाई फोन पनि गर्नुभयो। आउनेबित्तिकै पहिला नै सदर भयो। चिठी पनि तयार भयो र त्यो लिएर अर्थमन्त्रायमा गएँ म। त्यस्तो चक्र थियो त्यो बेलामा, आफ्नो मान्छे नभई फाइल डेक नचल्ने। कान्छीआमा मन्त्री भएको भएर सजिलो भयो, दवाडीलाई भने कस्तो अरिंगालको गोलोमा ढुंगा हानेछु भन्ने लाग्यो होला।
त्यसपछि दवाडीले त्यो फाइल बोकेर आएको दृष्य हेर्नलायक थियो। दुईटा हात तल बाँधेको र फाइलको चाङले चिउँडोसम्म छोएको। त्यो बोकेर हिड्न पनि गाह्रो। दवाडीले स्वास्थ्य मन्त्रालयको पूरा करिडोर हिँडेर आए र सहायक मन्त्रीको टेबलमा फाइलहरु राखेँ। त्यसपछि ती सुब्बाले उसलाई सँगै राखेर मेरो फाइल देखाए। यो आजै पेश गर्नू भनी आमाले आदेश दिनुभो।
त्यसपछि सबै स्मूथ भयो। अर्थ मन्त्रालयमा मेरो साथी नै थिए पुष्पलाल प्रधान । हामी सँगै आइएस्सी पढेको, उनी बीए पढेर प्रशासनमा नाम निकालेर सेक्सन अफिसर बने। म चाहिँ डाक्टरी पढ्न लागेँ। हाम्रो सम्बन्ध थियो, मैले सबै कुरा भनी उनलाई रोकेर राखेको थिएँ। त्यो बेलामा अंग्रेजीमा चिठी लेख्ने, टाइप गर्ने मान्छे कम थिए, पुष्पलाल नभई चिठी नलेखिने। त्यो चिठी अर्थमन्त्रालयबाट निकालेर उता पुर्याउन आधा दिन लाग्यो। शुक्रबार बिहानै गएर ब्रिटिस काउन्सिलमा बुझाएपछि सबै स्मूथ भयो।
त्यसपछि बेलायत जाने भयो भनेर डाक्टर गंगोलले शनिबार नै मलाई बिदाइ गर्न एउटा पार्टी आयोजना गर्नुभयो। मलाई मन पराउने र मैले काम गरेका फिजिसियन, डाक्टर सत्याल र डाक्टर पहाडी, आइएल आचार्य र सर्जरी डिपार्टमेन्टका सबै त्यहाँ हुनुहुन्थ्यो। राम्रो पार्टी दिनुभयो। ड्रिंक सर्भ गर्दै आए, मैले म लिन्नँ भने। म अल्कोहल लिन्नथिएँ त्यसबेला। डा. ताराबहादुर खत्री सर्जन हुनुहुन्थ्यो, उहाँले दोस्रो पटक लिउ लिउ भनेर कर गर्नुभयो। म लिन्नँ डाक्टरसाब भनेँ। तेस्रोपटकमा उहाँले ‘तिम्रो लागि गरेको पार्टीमा तिमी नै नखाने’ भनेर कर गर्नुभयो। कहिले नबोल्ने डाक्टर गंगोल बोल्नुभयो, ‘अब ऊ स्कटल्याण्ड जान लागेको छ, त्यहाँ पुगेर स्कचबाटै सुरु गर्छ। स्कटल्याण्ड जाने मान्छेले यहाँको लोकल कहाँ खान्छ ? तपाईँहाम्रो जस्तोबाट सुरु गर्दैन’ भनेर बचाइ दिनुभयो।
आइतबार गोर्खालीले पनि बिदाइको कार्यक्रम आयोजना गरेका थिए। त्यसमा मेरै गाउँका तलका चैतन्यराज देवकोटा हुनुहुन्थ्यो। उहाँ त्यतिबेला बिजनेस गर्नुहुन्थ्यो। अहिलेको लालदरबारमा उहाँको अफिस थियो। उहाँ लेखक पनि हुनुहुन्थ्यो। चैतन्यराज देवकोटा र तुलसी न्यौपाने सक्रिय हुनुहुन्थ्यो। सबै गोर्खालीलाई भेला गरेर रिसेप्सन जस्तो दिएर गोर्खालीहरुको सद्भाव व्यक्त गर्नुभयो। म अहिले पनि आभारी छु। मेरो बिदाइ राम्रो तरिकाले भयो, जिल्लाबासीले पनि गरे, डिपार्टमेन्टबाट पनि भयो, धेरै उत्साहित भएर बेलायत जाने तयारी भयो।
संयोग कस्तो पर्यो भने, म २७ जुलाइमा नेपालबाट उडेँ, बेलायत पढ्न जानको लागि। म एमबीबीएस पढ्न जानको लागि पनि २७ जुलाइमा नै उडेको रहेछु। त्यो पनि बुधबार नै थियो कि जस्तो लाग्छ। २७ जुलाइ- एमबिबिएस पढ्न गाको र बेलायतमा न्यूरोसर्जरी पढ्न गाको तारिख एउटै परेछ।
ब्रिटिस काउन्सिलले मलाई बेलायत पठाउँदा अरु विद्यार्थीहरु पनि सँगै पठाएको थियो। एकजना महिला हुनुहुन्थ्यो, फुड टेक्नोलोजी पढ्न जाने, उहाँलाई पनि म सँगसँगै राखिदियो। सँगसँगै लण्डन पुग्ने गरेर। लण्डन पुगेपछि फरक फरक ठाउँमा जानुपर्ने । उनीहरुको इन्स्ट्रक्सन यति इफेक्टिभ कि सुटकेसमा लगाउने ट्याग पनि दिएको थियो। अनि हिथ्रो पुगेर त्यहाँबाट भिक्टोरिया स्टेसनसम्म पुग्ने कुपन पनि दिएको थियो। जाने बित्तिकै पाउण्ड हुँदैन नि त खल्तीमा। कुपन त्यसैको लागि थियो।
त्यहाँ देखिनेबित्तिकै ब्रिटिस काउन्सिलका विद्यार्थी भनेर चिनिने पर्पल र पिंक कलरको ट्याग, टाढैबाट देखिने दुईचारवटा दिइएको थियो। ‘अहिले नराख्नू, अहिले राखे चुँडिन्छ, एयरपोर्टमा गएर ब्यागेज क्लेम गरिसकेपछि यो ट्याग लगाउनू र बस चढ्न जानू भनेर इन्स्ट्रक्सन दिइएको थियो। सबै इन्स्ट्रक्सन बुझिनेगरी।
होटलको चार्ज तिर्न सक्ने मेरो पनि अवस्था थिएन। होटल महंगो थियो, फाइभ स्टार। त्यसले मलाई पाठ सिकायो, नसोधी केही पनि नगर्नू।
नेपालबाट उडियो, ‘दिल्लीमा बास बस्नुपर्ने।’ दिल्लीको एयरपोर्ट ट्याक्स ५० रुपैयाँ आइसी तिर्नुपर्ने हुन्थ्यो। मैले त्यो थाहा पाएर ५० आइसी लिएर गएको थिएँ। तर मसँग जाने महिलालाई त्यो पनि थाहा रहेनछ। हामी बसेको होटलको पैसा त काउन्सिलले नै तिरेको थियो। राति बास बसेर बिहान ५ बजेको प्लेन समात्ने यात्रुलाई केको ब्रेकफास्ट? राति एयरपोर्ट नजिकैको होटलमा राखिदियो, पिकअप गर्न पनि आयो, भोलिपल्ट बिहान तयार भएर निस्कन्छु त हल्लाखल्ला। मसँग जाने महिलाले ५ बजे प्लेन चढ्नुपर्छ भनेर ३ बजे नै ब्रेकफास्ट मगाएर खाइछन्, रुम सर्भिसमा। त्यो ट्राभलिङको प्याकेजभित्र थिएन, महिला आफ्नो खल्तीमा भएको पैसा निकाल्न तयार नहुने, होटल बिना पेमेन्ट जान पनि नदिने।
अलि बेर हल्ला खल्ला भयो, पैसाभन्दा पनि ट्राभलर चेक थियो, त्यसलाई साट्न सक्ने कुरा भएन। त्यसपछि मैले यताउता कुराकानी गरेँ। होटलले छोडिदियो। हामीलाई एयरपोर्ट पुर्याइदियो। उहाँसँग एयरपोर्ट ट्याक्स पनि थिएन। त्यो मैले तिरिदिएँ, तर होटलको चार्ज तिर्न सक्ने मेरो पनि अवस्था थिएन। होटल महंगो थियो, फाइभ स्टार। त्यसले मलाई पाठ सिकायो, नसोधी केही पनि नगर्नू।
जेष्ठ ४, २०७५ मा प्रकाशित,
युबराज घिमिरे
Friday, May 4, 2018
डाक्टर उपेन्द्र देवकोटा को स्वास्थ्य लाभ को कामना
म अब सायद बिरामीको सेवामा फर्कन पाउने छैन
डा. उपेन्द्र देवकोटा १९ घण्टा पहिले
25.9K940
(प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ भर्ती हुनुहुन्छ। अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको।
चिकित्सा पेशामा लागे पनि मुलुकको राजनीति, संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उहाँका चिन्ता र मान्यतामा स्वास्थ्य अवस्थाले कुनै प्रतिकूल असर पारेको छैन। आफूलाई स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई ‘नेपालभन्दा सुन्दर मुलुक दुनियाँमा अर्को छैन’ भन्न बिर्सनुहुन्न।
अस्पतालमा एउटा भेटमा डा. देवकोटाले भन्नुभयो, ‘मर्न लागेको मान्छेले असत्य बोल्दैन। म केही बोल्न चाहन्छु।’
डा. देवकोटाका विविध अनुभव र मान्यताको श्रृंखला देशसञ्चारमार्फत प्रस्तुत गर्ने अनुमति पाउँदा हामी उहाँप्रति अनुगृहित छौँ।
रोग र त्यसको असरबारे निश्चय पनि एउटा चिकित्सकसँग धेरै ज्ञान हुन्छ। तर, यो अन्तिम अभिव्यक्तिको श्रृंखला नबनोस् डा. देवकोटाको, हामी उहाँको स्वास्थ्यलाभका लागि प्रार्थना र शुभेच्छा पनि व्यक्त गर्न चाहन्छौँ। -सम्पादक)
मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ अावश्यक व्यवस्था गर्न। घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग। माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा। गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ। हेनरी मभन्दा ३/४ वर्ष जेठा हुन्। उक्लँदा मलाई अलिअलि गाह्रो भो। म सहरिया भएछु क्यारजस्तो लाग्यो।
माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई। लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्यौँ त्यहीँबाट। मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि। हेनरीलाई चिनाएँ ती दृश्यहरु।
एक बोतल बियरबाट ५/७ घुट्का पिएपछि मन लागेन। हेनरीलाई पनि खासै रमाइलो लागेन। बियरको तर्पण दिएर ओर्लियौँ। यो उमेरमा ग्यास्ट्राइटिस राम्रो हैन। काठमाडौँ गएर इन्डोस्कोपी गर्न भने उनले। मलेखुमा उनलाई ‘ड्रप’ गरेर काठमाडौँ गएँ म। पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो। ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो। उपचार सुरु भयो। मलाई फाइदा भएन, काम पनि गरिराखेँ। औषधि पनि खाइ राखेँ।
त्यसपछि चुनावको रौनक थियो। गोरखाको चुनाव रमाइलो थियो। विभिन्न कारणले वामगठबन्धनको पक्षमा उभिने निधो गरेँ। करिब १० दिनपछि फेरि गोरखा गएँ। एकैदिन त्यस बेलाका पूर्व प्रधानमन्त्री र अहिलेका पनि प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग तीनओटा र्यालीमा भाषण दिएर काठमाडौँ फर्किएँ। विद्यार्थी जीवनमा वादविवाद प्रतियोगितामा अक्सर पहिला हुन्थेँ। तर यता आएर भाषण दिने बानी हटेको थियो। राम्रै बोलेँ। थारो भैँसीलाई कुँडो ख्वाएर अनुत्पादक काम नगर्न आग्रह गरे सबैसँग। भाषणपछि काठमाडौँ फर्केँ तर धेरै थाकेँ। भोलिपल्ट हेनरी बेलायत फर्कँदै थिएँ। म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन। बिहीबार दिनभरि आराम गरेँ। शरीर पलाएपछि अस्पताल गएर शुक्रबार अप्रेसन गरेँ।
गोरखाकी एकजना १२ वर्षकी बहिनी थिइन्। उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो। एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन। म ‘इरिटेट’ भएँ। तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन। ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो। ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो। ऐना हेरेँ, आँखा पहेँला। ‘डीप जन्डिस’ लाग्यो। शंका पनि लाग्यो। मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो। आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरेँ। त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ।
त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन। पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो। भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो। नलीहरु ‘ड्रेन’ गर्न नसके २/४ दिनमै जीवनमा असर पार्न सक्ने अवस्था देखियो। मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल गर्यौँ। ढुक्क हुन सकिएन। तत्काल बेलायत फोन गर्यौँ हेनरीलाई। उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए। उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ। हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो। सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ।
म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउन हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ। मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन। नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्ना विभागका ५/६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए।
बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो। उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन्। त्यसपछिका डा. जोन डेभलिनले ‘टेक अप’ गरे। पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन। अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले। वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो।
उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ। कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने। त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे।
नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ। सबै कुरा ढिलो हुन पुग्यो। किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ। लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ। तर, मेरो ट्युमर बढ्दै गएको देखियो। पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा।
सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो। त्यो दु:खद थियो। फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन। रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ। रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन्। त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन।
किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म।
खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ।
निको नहुने रोग लाग्दा के गर्ने? म स्वयम् चिकित्सक हुँ। मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुनेछ। त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ। दाजुभाइ दिदी बहिनीहरुकै समिपमा।
मेरा आफ्ना अनुभव र उपलब्धीहरुले अरुका लागि के अर्थ राख्लान् मलाई थाहा छैन। तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ। त्यसैले म केही बोल्ने प्रयास गर्नेछु।
म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु। मेरा अनुभव र भनाइ राख्दै जानेछु।
मृत्यु अवश्यंभावी छ।
गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुबो मृत्यु… ।’
अर्थात जन्मपछि मृत्यु निश्चित छ।
हेनरी लंगफेलोले भनेका छन्, जिन्दगी भनेको आमाको गर्भबाट निस्केर चिहानसम्मको यात्रा हो।
हामी चिकित्सकले त्यो यात्रालाई केही लम्ब्याउने टार्ने प्रयास गर्छौँ।
क्षेत्रप्रताप अधिकारीको यो गीतको अर्थ अहिले बुझ्न थालेको छु।
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो। मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ।
बैशाख २०, २०७५ मा प्रकाशित